गोठका गाइमाथि
घाँस हालिदिनेको हुकुम चल्छ
अरु गाई चउरमा चरिरहँदा
गोठका गाईहरु
शिर नुगाई
घाँस कुरिरहन्छन्
दाम्लो चुँडाएर
चउर लम्कँदा
गोठ गुम्ने डर साँच्छन् गाईहरु
आफ्नै दूध लुटाएर
आफै रित्तिएर
अरु पाल्ने गाईहरु
आफू पालिन
गोठ खोज्छन्
तब त
उनीहरुमाथि
घाँस हालिदिनेको हुकुम चल्छ
तर मलाई
सधैं एउटै प्रश्नले गिज्याइरहन्छ
‘गोठको गाई हुन्छ
कि गाईको गोठ ?’