यसो सम्झिल्याउँदा पढ्न थालेको पनि डेढ दशक हुन लागेछ । सानोमा आमाले पढाउने स्कूलमा आमाको पछि पछि गइयो । थाहै नपाई क ख ग चिनियो । 3- 4 तिर हुँदा कसले पहिला भ्याएर सर मिसलाई देखाउने अनि जाँचमा पनि को पहिला निस्कने भन्ने होडबाजीमै रमाइयो । 6-7 तिर परीक्षामा स्थान जमाउन पढियो । सर मिसबाट राम्रो विद्यार्थीको संज्ञा पाउँदा त्यसले पढ्नका लागि निकै ठूलो ऊर्जा दिन्थ्यो । 9-10 त एस.एल.सी. को पर्व नै भयो । त्यतिबेलासम्म पनि केका लागि पढ्ने भन्ने सायदै बुझेको हुँदो हूँ । बल्ल अहिले आएर केका लागि पढ्ने भन्ने बुझेझैं लाग्न थालेकोथ्यो फेरि 12 पछि के पढ्ने भन्ने अन्योलले मनमा अशान्ति छाउन थालेको छ । 5 कक्षामा होझैँ लाग्छ 'लक्ष्य नभएको मानिस साच्चै बाँदर जस्तै हुन्छ' भनेर पढेको । आज कविताको त्यही अंशले गिज्याईरहेझैँ लाग्छ । कसैले CA राम्रो भन्छन् कसैले ईन्जिनियर, डक्टर त आफ्नो रुचिको विषय नै परेन । खै के हो के हो, जीवनकै बाटो फाट्ने दोबाटो, कुन रोजूँ कुन छोडूँ ?